ब्युँतिँदै सिनास

अर्थ मन्त्रालयले उपलब्ध गराएको ५ करोड बजेटलाई कोषमा राखेर त्यसैको वार्षिक ब्याजबाट प्राज्ञिक अनुसन्धानमा खर्च गर्ने योजना ।

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय र राज्यको समेत बेवास्ताका कारण वर्षौंदेखि शिथिल बनेको ‘नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) बिस्तारै ब्युँतिन खोज्दै छ ।

सिनास राष्ट्रिय एकता, हिमालय अध्ययन, नेपालको वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्ध, मुलुकको भाषा, संस्कृति, परम्परा, भूगोलको अध्ययन अनुसन्धान र प्रकाशन गर्ने ४८ वर्षअघि स्थापित थिंकट्यांक संस्था हो । नियमित बजेट अभाव र त्रिविभित्रको आन्तरिक अव्यवस्थाका कारण पछिल्लो समय यो संस्था शिथिल थियो ।
अहिले अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । यो बजेटलाई अन्यत्र खर्च नगरी सिनासले कोष बनाएर राखेको छ । कोषको वार्षिक ब्याजबाट प्राज्ञिक अनुसन्धानमा खर्च गर्ने कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले जानकारी दिए । कोषलाई विशुद्ध अनुसन्धानमा मात्र खर्च गर्न पाउने नियमावली बनाएको उनले बताए । नियमावलीअनुसार भौतिक निर्माण, सवारी साधन खरिदजस्ता विषयमा कोषको रकम खर्चिन मिल्दैन । ‘म पछि आउनेले नियमावली संशोधन गर्लान्/नगर्लान् तर अबको दुई वर्ष आफ्नै स्रोतमा अनुसन्धानको काम हुनेछ,’ उनले भने, ‘त्रिविका आंगिक क्याम्पसमा कार्यरत शिक्षकमध्ये विषयगत प्रतिस्पर्धाबाट त्यो काम हुनेछ ।’


सिनासले इतिहासविद् धनवज्र वज्राचार्य, मानवशास्त्री डोरबहादुर विष्ट, अन्तर्राष्ट्रिय सम्बन्धविद् कुमार खडगविक्रम शाह र संस्कृतिविद् प्रयागराज शर्माको नामबाट अनुसन्धानवृत्ति प्रदान गर्नेछ । प्रतिस्पर्धाका आधारमा उक्त वृत्ति वार्षिक पाँच जनाले एक–एक लाख रुपैयाँ पाउने छन् । यसका अलावा सिनासले कार्यरत १२ जना प्राध्यापकलाई एक–एक लाख रुपैयाँको अनुसन्धानवृत्ति दिनेछ ।

विष्ट, अन्तर्राष्ट्रिय सम्बन्धविद् कुमार खडगविक्रम शाह र संस्कृतिविद् प्रयागराज शर्माको नामबाट अनुसन्धानवृत्ति प्रदान गर्नेछ । प्रतिस्पर्धाका आधारमा उक्त वृत्ति वार्षिक पाँच जनाले एक–एक लाख रुपैयाँ पाउने छन् । यसका अलावा सिनासले कार्यरत १२ जना प्राध्यापकलाई एक–एक लाख रुपैयाँको अनुसन्धानवृत्ति दिनेछ ।


कार्यकारी निर्देशक कार्कीका अनुसार सिनासमा अब इन्डिया डेस्क, चाइना डेस्क र जापान डेस्क पुनःस्थापना गरिनेछ । यी डेस्कले सम्बन्धित मुलुकको संवेदनशील विषयमा शोध अनुसन्धान गर्नेछ । ‘इन्डियामा भएको राजनीतिक परिवर्तनलाई हामीले नजिकबाट हेर्छौं र त्यसलाई केन्द्रमा राखेर प्राज्ञिक अनुसन्धान गर्छौं,’ उनले भने, ‘त्यसैगरी चीन, जापानलगायत मुलुकमा प्राज्ञिक अनुसन्धान हुनेछ ।’


यसैगरी सिनासको जर्नललाई नियमित प्रकाशन गर्ने, विषयगत अनुसन्धानका पुस्तक प्रकाशन गर्ने, अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्ने कार्यतालिका नियमित रहेको जनाइएको छ । यसै वर्ष चाइनिज एकेडेमी अफ सोसल साइन्सेससित अन्तर्राष्ट्रिय सम्मेलन गरिने कार्कीले जनाए ।


त्रिविअन्तर्गत रहेका कला, धर्म, तन्त्रलगायत विषयमा अध्ययन अनुसन्धान गर्ने यो संस्थाले साउन १ गते स्थापना भएको ४८औं वर्षगाँठ मनाएको छ । अनुसन्धाता तथा विश्लेषक प्रत्यूष वन्त सिनासले तत्कालीन परिवेशमा ‘थिंकट्यांक’ जन्य अनुसन्धान गरेर छवि निर्माण गरेको बताउँछन् ।


सिनासको मुख्य उद्देश्य गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा विश्वसनीय तथ्य तथ्यांक प्रस्तुत गर्नु हो । सन् १९७२ मा इन्स्टिच्युट अफ नेपाल एन्ड एसियन स्टडिज (इनास) भनेर स्थापना गरिएको थियो । जसलाई १९७७ मा विशुद्ध अध्ययन अनुसन्धानमा केन्द्रित सिनास बनाइएको हो । स्थापनाको दशकमा सिनासले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्राज्ञिक अनुसन्धान तथा प्रकाशनमा ख्याति पाएको थियो । राजनीतिक परिवर्तनसँगै सिनासको छविमा ह्रास आयो ।


सिनासको मूल उद्देश्य राष्ट्रिय एकता, हिमालय अध्ययन, नेपालको वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्ध, मुलुकको भाषा, संस्कृति, परम्परा, भूगोलको अध्ययन अनुसन्धान गर्ने र प्रकाशन गर्ने हो । ‘कुनै बेला सिनासमा ७० जना प्राध्यापक काम गर्थे,’ सिनासका कार्यकारी निर्देशक कार्की भन्छन्, ‘अहिले १० जना छौं । त्यसमा पनि निकट समयमा चार जनाले अवकाश पाउँदै हुनुहुन्छ । उद्देश्य प्राप्तिका निम्ति राज्यले लगानी गर्न नसक्नु र राजनीति हावी हुनु नै दुर्भाग्य हो ।’ सिनासमा १९ कर्मचारी कार्यरत छन् ।


सिनासलगायत त्रिविका चार अनुसन्धान केन्द्रलाई पढाउन नसक्ने प्राध्यापक थन्काउने थलोका रूपमा बुझ्ने गरिएको छ । सीमित स्रोतका बाबजुद सिनासले अनुसन्धान जारी राखेको प्राध्यापक पञ्चनारायण महर्जन दाबी गर्छन् । कतिपय अनुसन्धान राष्ट्रका निम्ति आवश्यक विषयभन्दा पनि दाताले इच्छाएअनुसार हुने गरेको छ । सिनास स्वयंले विभिन्न विश्वविद्यालय र निकायसित स्वतन्त्र ढंगले सम्झौता गरेर अघि बढ्न सक्ने स्थिति नरहेको उनीहरूको भनाइ छ ।


यद्यपि सिनास दक्षिण एसियाको अनुसन्धान केन्द्रमध्ये ६३औं स्थानमा रहेको निर्देशक कार्कीले जानकारी दिए । ‘सिनास कुनै स्वतन्त्र एनजीओ (गैरसरकारी संस्था) होइन, त्रिविको एक अंग मात्र हो,’ उनी भन्छन्, ‘एनजीओले जसरी प्यान र भ्याट बिल प्रयोग गर्न मिल्दैन । त्यसैले पनि कानुनी अडचन कायम छ तैपनि प्राज्ञिक वातावरण निर्माण गर्ने प्रयास जारी छ ।’


सिनासले अहिले विभिन्न देशका ५८ विश्वविद्यालयसित प्रकाशन आदानप्रदान जारी राखेको जनाइएको छ । ‘हाम्रो हाइट घटेकै हो र राज्यको हेर्ने दृष्टिकोण कमजोर भएको पनि हो तर अहिले हाम्रो प्रयास सिनासको साख जोगाउनेतर्फ केन्द्रित छ,’ निर्देशक कार्की दाबासाथ भन्छन्, ‘अब अनुसन्धान कार्यमा विश्वविद्यालयकै शिक्षकलाई जिम्मेवारी दिँदा सिनास, त्रिविका विभिन्न विभाग र क्याम्पसहरूबीच समन्वय हुनेछ ।’ यसको आधार निर्माणमा जुटेको उनी सुनाउँछन् ।

प्रकाशित : श्रावण १, २०७६ २१:३५

Source: https://www.kantipurdaily.com/news/2019/07/17/156337864185425727.html?fbclid=IwAR363zbp55VfKrgl8PSg8Hr7ytICfGXc0y-T7_FF3ile9MvygCHd44RhNP0

9 thoughts on “ब्युँतिँदै सिनास

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *